२०८० चैत्र १६ , शुक्रवार

साइबर अपराधमा नयाँ कोड वर्ड ‘हाई मम’

सुनाखरी न्युज/ काठमाडौं-आपराधिक मानसिकता भएका व्यक्तिहरूले ठगीका नयाँ–नयाँ तरिका प्रयोग गरिरहेका छन् । यसैक्रममा पछिल्लो समय अष्ट्रेलियामा ‘हाई मम’ ठगी व्यापक बनेको छ । साइबर अपराधमा नयाँ तरिका ‘हाई मम’को माध्यमबाट हालसम्म २ करोड अष्ट्रेलियन डलरभन्दा बढीको ठगी भइसकेको त्यहाँको प्रहरीले बताएको छ । यो ठगीको शिकार मूलतः ५५ वर्षभन्दा बढी उमेर समूहका मानिसहरू भएका छन् ।

 

‘हाई मम’ स्क्यामलाई लिएर अष्ट्रेलियन प्रशासन ‘एडभाइजरी’समेत जारी गरेको छ । स्थानीय सञ्चारमाध्यमकहरूले बताएअनुसार पछिल्लो समय अष्ट्रेलियाका सबैजसो शहरका मानिसहरू यो ठगीको शिकार भइसकेका छन् । ठगहरूले मुख्य गरेर ५५ वर्ष उमेर भन्दा माथिका व्यक्तिको मोबाइलमा ‘हाई मम’ लेखेर सन्देश पठाउँछन् । त्यसपछि बातचितका क्रममा ठगहरूले आफू ठगिने व्यक्तिको छोरा–छोरी भएको र मोबाइल हराएकाले नयाँ नम्बरबाट सम्पर्क गरेको भनेर विश्वासमा पार्छन् । त्यसपछि आफूलाई पैसामा जरुरत परेको बाहनामा त्यस्ता व्यक्तिसँग करौडौं रुपैयाँ ठग्ने गरेका छन् । ठगहरूले नयाँ नम्बर लिएपछि मोबाइल बैंकिङ नचलेको, आफूलाई तत्काल पैसा चाहिएको आदि बाहाना पारेर ठगी गरिरहेको अनुसन्धानका संलग्न अधिकारीहरूले बताएका छन् ।

 

अष्ट्रेलियाका साइबर क्राइम स्क्वाड कमाण्डर डिटेक्टिभ सुपरिटेण्डेन्ट म्याथु क्राफ्टले यो ठगीको शिकार संसारभरका आमा–बुबा हुनसक्ने बताएका छन् । गत मे यता अष्ट्रेलियाभर ‘हाई मम’ ठगी फैलिएको उनले बताए । ठगीमा संलग्नहरूले पैसा पाउनेबित्तिकै तुरुन्त क्रिप्टोकरेन्सीमा परिवर्तन गर्ने गरेका छन् । जसका कारण आफू ठगीएको थाहा पाउने व्यक्तिले पनि उक्त पैसा फिर्ता पाउन सकिरहेका छैनन् । क्राफ्टले यसबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कुनै संकास्पद सन्देश प्राप्त भएमा आफ्ना छोराछोरीलाई अन्य म्यासेजिङ एपहरूमार्फत सम्पर्क गर्न सुझाव दिएका छन् । यदी कोही ठगीमा परिहालेमा तुरुन्त आफ्नो खाता रहेको बैंकमा सम्पर्क गर्न पनि उनले सुझाव दिएका छन् ।