२०८० चैत्र १६ , शुक्रवार

पत्रकारितापछि नेता बनेकाहरूले लोकतन्त्र ल्याउने नेता-पार्टीको अपमान गरे: ओली

सुनाखरी न्युज/ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता-पार्टीको अपमान गरेको बताएका छन्।

 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका नेताहरूलाई लक्षित गर्दै उनले भाँड्ने काम भइरहेको बताएका हुन्। नेताहरूमाथि प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँदै उनले असन्तुष्टि व्यक्त गरे। ‘अहिले त एउटा पत्रकार नचाहिने-नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ,’ उनले भने,‘देशमा लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ। सबलाई चोर भनेको छ। अलिकति शरम हुनुपर्दैन ?’

 

तानाशाहीविरूद्ध लड्दा बलिदान दिएका, अंगभंग भएका, परिवार गुमाएकाहरूको अपमान गरेको पनि उनले बताए। ‘देशका लागि बलिदान, देशका लागि अंगभंग भएका छन्। हिजो तानाशाहीविरूद्ध लड्दा अंगभंग भएको छ। परिवारको सदस्य गुमाएको छ। काखका छोराछोरी गुमाएको छन्। आमा-बाबु गुमाएको छन्। टुहुरा-टुहुरी हुनुपरेको छ। श्रीमान गुमाएको छ। श्रीमती गुमाएको छ। हात-खुट्टा गुमाएको छ। स्वास्थ्य बिगारेको छ,’ उनले भने। यसरी लोकतन्त्र ल्याएका पार्टी तथा नेताहरूलाई अपमान गरेको उनले बताए।

 

‘यसरी लोकतन्त्र ल्याएको नेताहरू पार्टीहरूलाई अपमान गरेको छ। तथानम बोलेको छ। कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ। यो सबै कुराहरूसँग हामी सतर्क हुनुपर्दछ। यो देश बिगार्ने, भाँड्ने तरिका हो। भडुवाहरूको तरिका हो। यस्ता भडुवाहरूसँग हामी सतर्क हुनुपर्छ,’ उनले भने।