२०८० चैत्र १५ , बिहिवार

कोरोना संक्रमण भदौ दोस्रो साता उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । भदौको दोस्रो हप्तातिर  कोरोना संक्रमणको चौथो लहर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।

ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ असारमा परीक्षण गरिएको नमुनामध्ये ०.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २० साउनमा आइपुग्दा यो संक्रमण दर बढेर १५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

कोरानोको नर्मल, मध्यम र उच्च खालको अवस्थालाई हेरेर प्रक्षेपण गरिएको ईडीसीडीका एक अधिकारी बताउँछन् ।

‘कोरोनाको चौथो लहर कस्तो अवस्थामा पुग्छ भन्ने निर्धारण विभिन्न कारक तत्वले गर्छ । अहिलेको अवस्था नर्मल र मध्यमको बीचमा रहेको जस्तो देखिन्छ,’ ती अधिकारीले भने । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि १ हजार आसपास छ । तर यो संख्या आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार संक्रमित हुँदा रोकथामका लागि कति आइसीयू, भेन्टिलेटर, बेड लगायतका अन्य समान चाहिन्छ भनेर तयारीको लागि प्रक्षेपण गरिएको हो ।

 

कोरोनाको संक्रमणदरलाई रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड र खोपलाई प्राथमिकता दिनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।