२०८१ बैशाख १३ , बिहिवार

भदौ पहिलो सातासम्म सिट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको निर्णय

सुनाखरी न्युज / काठमाडौ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताए ।

 

त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

 

यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन्। अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।