२०८० चैत्र १६ , शुक्रवार

कस्मेटिक्स कारखानामा छापा, नक्कली कस्मेटिक सामान बरामद

सुनाखरी न्युज / काठमाडौ । काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्ती सर्वेश्वर मार्गस्थित मिसेल कस्मेटिक्स प्रालिमा प्रहरीले छापा मारेको छ । दिपिका अग्रवालको नाममा दर्ता उक्त कस्मेटिक्स प्रालिमा नक्कली कस्मेटिक्स सामानहरू उत्पादन गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले छापा मारेर नक्कली कम्मेटिक सामान बरामद गरेको छ ।

 

उक्त कारखानमा छापा हानेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । उक्त कस्मेटिक कारखानाबाट ‘ड्याक्स’ लेखिएको ब्याक हेयर स्याम्पु ७३ कार्टुन (प्रतिकार्टुनमा १० पिसको बट्टा भएको ६४ थान), ग्रान्डीएर हाइड्रेटिङ केराटिन लेखिएको १९० कार्टुन (प्रतिकार्टुनमा २४ पिस), एलोन्ज हेयरकेयर लेखिएको ३०० कार्टुन (प्रतिकार्टुन २४ पिस), हेड एन्ड स्याम्पु तयारी अवस्थाको १०० पिस बरामद गरेको छ ।

 

त्यस्तै, क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लिटरको ड्रम १६० थान, कच्चा पदार्थ भएको २५ केजीको बोरा २० थान, मिक्सर मेसिन १ थान, टेपिङ मेसिन १ थान, फिलिङ मेसिन २ थान, प्याकिङ मेसिन २ थान, लेवलिङ मेसिन १ थान, फिल इन मेसिन २ थान, मिक्स्चर मेसिन ३ थान र मिति छाप्ने मेसिन १ थान बरामद गरेको प्रहरीले जनाएको छ । उक्त कस्मेटिक्स सबै नक्कली भएको जनाएको छ ।