२०८० चैत्र १६ , शुक्रवार

राजस्व छलि ल्याएको सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चार जना पक्राउ

सुनाखरी न्युज / काठमाडौँ । भारतबाट कच्चा सुर्ती राजस्व छलि ल्याई भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर भएका ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने सर्लाही बिष्णु गाउँपालिका-३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौ कुलेश्वरबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा उनीहरूले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द र सुरेशले संचालन गरेको ललितपुर महानगरपालिका-२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएपछि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त उद्योग, नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तलासी गर्दा राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २ सय केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो ।

 

उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरिएको छ । पक्राउ परेका सवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।