२०८१ बैशाख ६ , बिहिवार

धमाधम गाउँ फर्किन थाले कोसीपीडित

सुनाखरी न्युज / काठमाडौँ- उदयपुरको वेलका नगरपालिकास्थित कोसी प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित ठाउँमा ल्याइए पनि बिहीबार बिहानैबाट मानिसहरू आफ्नो घर फर्किन थालेका छन्।

नगरपालिकाका मेयर अशोक कार्कीले आरक्षले जग्गा हडप्ने हल्ला फैलिएपछि बिहीबार बिहानैदेखि मानिसहरूमा घर फर्किन थालेको बताए। ‘प्रभावित क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्ष नजिक पर्छ। कसैले यही बेला बस्ती उठायो भने उठाकै उठाकै हुन्छ भनेर हल्ला फिँजाइदिएपछि मानिसहरू आत्तिएर घर फर्किन थालेका छन्,’ मेयर कार्कीले भने। केही समयअघि आरक्ष क्षेत्रलाई विस्तार गर्ने कुरा चलेको भए पनि उक्त योजना स्थानीयवासी र राजनीतिक दलका कारण रोकिएको मयेर कार्की बताउँछन्। तर पनि कसैले डर देखाइदिएका कारण झन्डै एक हजारको संख्यामा मानिसहरू घर फर्किएको उनले बताए।

 

स्थानान्तरण गरिएको ठाउँबाट मानिसहरू धमाधम गाउँ फर्किन थालेपछि प्रहरीको सहयोगमा उनीहरूलाई रोक्ने प्रयास गरिए पनि त्यो सम्भव नभएको उनको भनाइ छ।’बिहानदेखि नै धेरै मानिसहरू फर्किएका छन्। हामीले प्रहरी लगाएर रोक्ने प्रयास पनि गर्यौं तर पानी घाँटी-घाँटीसम्म भएकाले त्यो सम्भव भएन,’ उनले भने। त्यसरी गाउँ फर्किनेमा सबै युवाहरू रहेको उल्लेख गर्दै मेयर कार्कीले आज साँझसम्म उनीहरूलाई फर्काउन प्रयास गरिने जनाए। उनले आज बिहानैमात्र पनि कोसीको बाँध फुटेको क्षेत्रको निरीक्षण गर्दा पानीको बहाव नघटेको उल्लेख गर्दै जतिबेला पनि विपद् आउनसक्ने हुँदा ती मानिसहरूलाई सुरक्षित स्थानमा फर्काइने बताए।

 

 

‘गाउँ फर्किनु भएकाहरूलाई आज साँझसम्म सम्पर्क गर्छौं। भएन भने भोलि बिहानै माइकिङ गर्ने सोचेका छौं,’ मेयर कार्कीले भने। कतिपय मानिसहरू भने आफ्नो पशुचौपायाका कारण पनि घर फर्किएका छन्। मेयर कार्कीले पनि कतिपय मानिसहरूले आफ्ना सुंगुर, कुखुरा, राँगा, भैंसी ल्याउन नसकेका कारण र तिनीहरूलाई घाँसपात दिनका लागि गाउँ फर्किएको जनाए। ‘ठूलो पानी परेकाले कतिले आफ्नो पशुचौपायाहरू उत्तै छाड्नुपर्यो। त्यसैले अलिकति उचो भाग रहेको ठाउँका मानिसहरू अब पानी घट्यो भन्दै फर्किन थालेका छन्,’ कार्कीले भने।

 

बुधबार बिहान करिब ३ बजेतिर सप्तकोसीको बाढी भंगालो फुटाएर बस्तीमा छिरेपछि उदयपुरको वेलका नगरपालिकाका पाँच वटा वडा र सुनसरीको बराह क्षेत्र नगरपालिकाका दुई वटा वडा प्रत्यक्ष प्रभावित भएका छन्।प्रभावित हुने क्षेत्रमा वेलकाको १,२, ३, ८ र ९ नम्बर वडा छन् भने बराहक्षेत्रको ८ र ९ नम्बर वडा छन्। अहिले ती क्षेत्रका मानिसहरूलाई सम्बन्धित स्थानीय तहले सुरक्षित स्थानमा लाने क्रम जारी राखेका छन्।