२०८० चैत्र १६ , शुक्रवार

सुडानमा खाद्यान्नको चरम सङ्कट पर्नसक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

सुनाखरी न्युज / खार्तुम ।  संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ ।

 

यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।

 

यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ ।

 

हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ । आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।