२०८० चैत्र १६ , शुक्रवार

सुनको भाउ दुई सातामै ३ हजार १ सय बढ्यो

सुनाखरी न्युज / काठमाडौँ- सुनको मूल्य फेरि उकालो लागेको छ । दुई साताअघि साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म झरेको सुन आज बिहीबार ९६ हजार १ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिन (बुधबार)को तुलनामा ८ सय महँगो हो । बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

 

गत फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको रेकर्ड बनाएको सुन क्रमश: घट्दै साउन ५ गते ९३ हजारसम्म झरेको थियो । तर पछिल्ला दिनमा फेरि सुनको मूल्य बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र नेपाली मुद्रा समेत डलरसँग अवमूल्यन हुँदा सुन महँगिएको हो । चाँदीको मूल्य पनि बढेको छ । साउन ५ गते प्रतितोला ११५५ रुपैयाँमा कारोबार भएको चाँदी दुई सातामै बिहीबार १२१० पुगेको छ । चाँदीको मूल्य पनि गत फागुन २५ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।