२०८१ बैशाख ७ , शुक्रवार

श्री एयरलायन्सको विमान उडेको ६ मिनेटमै नेपालगन्ज विमानस्थलमै अवतरण

सुनाखरी न्युज / काठमाडौँ । ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज पुनः नेपालगन्ज नै फर्किएको छ । नेपालगन्ज विमानस्थलका अनुसार, विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।

 

‘पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल (करिब ९ किलोमिटर ) बाटै जहाज फर्काए,’ विमानस्थलले भने, ‘जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।’

 

विमानस्थलका अनुसार उक्त विमानका सबै यात्रुलाई विमानस्थलमा राखिएको छ । श्री ले अर्को विमान पठाउने वा नपठाउनेबारे नेपालगन्ज विमानस्थललाई कुनै जानकारी गराएको छैन । । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।