२०८१ बैशाख १३ , बिहिवार

गुल्मीमा एक वर्षमा १० किलोमिटर सडक कालोपत्र

सुनाखरी न्युज / काठमाडौँ-  गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ ।

 

कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतको ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास–रेसुङ्गा सडक अन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ । आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । कालोपत्र नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ । हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क– डुवा छिर्ने–पटौती–प्युठान सडक अन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ । सडकको खाम्सेपानी–चेक्मी खण्डमा रु चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्र भएको हो । विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्स्ट्रक्सन प्रालिले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । कालोपत्रको काम पूर्णरुपमा नसकिए पनि ९५ भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचीमा राखेको छ ।

 

 

खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाँडा–सेउघाअन्तर्गतको २.५ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो । कूल ४.५ किलोमिटर सडक कालोपत्रका लागि कम्पनीले भ्याटबाहेक रु नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो । अहिलेसम्म कम्पनीको नाममा रु चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिए । सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गत एक सय १२ मिटर सडक कालोपत्र गरिएको छ । रेसुङ्गा नगरपालिकाको पुरानो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्र गरिएको हो । कूल रु ८५ लाखमा सडक कालोपत्र, तीन सय दुई मिटर कालोपत्रमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा–७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव–इन्जिनियर नारायण बुढामगरले जानकारी दिए ।

 

रुद्रवेणी–वामीटक्सार सडक अन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्र गरिएको छ । सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६/७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो । सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए । गत आवमा रेसुङ्गा नगरपालिका–७ भेटेनरी कार्यालय जाने सडक कालोपत्र गरिएको छ । प्रदेश समपूरक कोषबाट रु ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो । रासस