२०८१ बैशाख ७ , शुक्रवार

अल–जवाहिरी हत्या : तालिवान शासनको केन्द्रमा घुसेर अमेरिकाले कसरी यति सटिक आक्रमण गर्‍यो ?

सुनाखरी न्युज / काठमाडौँ- जुलाई ३१ को सूर्योदय हुनुभन्दा लगभग एक घण्टाअघि अल–कायदा प्रमुख अयमान अल–जवाहिरी घरको बाल्कोनीमा पुगे। काबुलको प्रमुख इलाकामा रहेको यस घरमा बस्ने यी चर्चित जिहादी नियमति बाल्कोनीमा हिँड्ने गरेको बताइएको छ । उनी प्रायः बिहानको नमाजपछि घरको बाल्कोनीमा जान्थे र केही समय टहलिने गर्थे । तर जुलाई ३१ को अल–जवाहिरीको बालकोनी हिँडाई उनको जीवनकै अन्तिम साबित भयो । स्थानीय समय अनुसार विहानको ठिक ६:१८ मा दुईवटा मिसाइल सोही बाल्कोनीमा खस्यो । विस्फोट भयो । र ७१ वर्षीय अल–जवाहिरीको मृत्यु भयो ।

 

 

बाल्कोनीमा जवाहिरी मारिँदा भित्र रहेका उनकी श्रीमती र छोरीलाई केही भएन । मिसाइल आक्रमणबाट बाल्कोनीमा मात्र क्षति भएको देखिन्छ । आखिर अमेरिकाले आफ्नो शत्रु देशको राजधानी भित्र गएर यति सटिकता साथ कसरी आक्रमण गर्न सक्यो ?

लेजर प्रविधियुक्त मिसाइल
अमेरिकाले आक्रमणमा जुन प्रकारको मिसाइल प्रयोग गर्यो त्यो सबैभन्दा महत्त्वपूर्ण छ । अमेरिकी अधिकारीहरूका अनुसार अल–जवाहिरीको हत्याका लागि हेलफायर मिसाइल ड्रोनबाट प्रहार गरिएको थियो । हावाबाट सतहमा मार हान्न सक्ने यी मिसाइलहरू २००१ सेप्टेम्बर ११ को आक्रमणपछि+ दशकहरूमा अमेरिकाले प्रतिआतंकवाद अभियानहरूमा नियमित प्रयोग गर्ने गरेको छ । हेलफायर मिसाइलको बारम्बार प्रयोग हुनुको मुख्य कारण यसको प्रभावकारिता हो अर्थात जसले लक्ष्यमा सटिक प्रहार गर्न सक्छ । ड्रोनबाट मिसाइल प्रहार गर्ने अपरेटर धेरै अवस्थामा कतै सुदुर स्थानको एउटा कोठा बसेर लक्ष्यको लाइभ भिडियो स्ट्रिम हेरिरहेको हुन्छ । भिडियो ड्रोनमा जडित क्यामेराहरुले खिचेर सेन्सरहरूले उपग्रह मार्फत ती अपरेटरसम्म पुर्‍याउँछन् । क्यामेरा अपरेटरहरूले लक्ष्यलाई ‘लक’ गरेपछि लक्षमाथि लेजर बीम फ्याँक्छन् । यसपछि मिसाइल प्रक्षेपण गर्दा मिसाईल लेजरले देखाएको मार्ग हुँदै लक्ष्यमा गएर ठोक्किन्छ । अमेरिका र सीआईएले सबै आक्रमणहरूमा आक्रमणको आदेश दिनुअघि सैन्य वकिलहरूसँग परामर्श लिने गर्छन् ।

 

 

जवाहिरीको निरन्तर निगरानी
काबुलमा आक्रमण गर्नुपूर्व अमेरिकाले के–कस्ता गुप्तचर जानकारी सङ्कलन गरेको थियो, त्यसको पूर्ण विवरण आउन बाँकी नै छ । यद्यपि, आक्रमणपछि अमेरिकी अधिकारीहरूले अल–जवाहिरीको जीवनशैली, जस्तै बालकनीमा नियमति टहल्ने बानीबारे पर्याप्त जानकारी हासिल गरेको बताएका छन् । यसबाट अमेरिकी जासुसहरूले यस घरमा कम्तिमा पनि केही हप्तादेखि नजर राखेका स्पष्ट हुन्छ । सीआईएका पूर्व वरिष्ठ अधिकारी मार्क पोलिमेरोपोलोसका अनुसार आक्रमण गर्नुअघि धेरै प्रकारका गुप्तचरहरू प्रयोग गरिएको थियो, जसमा जमिनमा रहेका जासुसहरूबाट जानकारी संकलन गर्ने पक्ष पनि थियो । अमेरिकी ड्रोन आक्रमणमाथि वर्षौंदेखि नजर लगाउदै आएका फाउण्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका वरिष्ठ फेलो बिल रोगियोका अनुसार जवाहिरीमाथिको आक्रमण पहिलेको अपरेशनको तुलनामा धेरै गाह्रो थियो । यस पटक आक्रमण भएको ठाउँ अर्थात अफगानिस्तानमा न अमेरिका थियो न उसको मित्र शक्ति ।

उदाहरणका लागि, विगतमा अमेरिकाले अफगानिस्तानका आधारबाट पाकिस्तानमा शरण लिईरहेकाहरुमाथि धेरै ड्रोन आक्रमण गरेको छ । त्यस्तै, इराकबाट छिमेकी सिरियामा पटक पटक आक्रमण गरिएको छ । ‘ती ठाउँ नजिक अमेरिकी आधार भएकाले अमेरिकी ड्रोन उडाउन सजिलो थियो । तर अल–जवाहिरीको सन्दर्भमा भने निक्कै गाह्रो भयो । अफगानिस्तानबाट अमेरिका बाहिरिएपछि यो अल–कायदा वा इस्लामिक स्टेटमाथि गरिएको पहिलो आक्रमण थियो । यो सामान्य कुरा होइन ,’ बिल रोगियोले भने । -बीबीसी