२०८१ बैशाख ८ , शनिवार

ठगी गर्ने मेरिगोल्ड ओभरसिजविरुद्ध मुद्दा दायर

सुनाखरी न्युज / काठमाडौँ- वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधीकरणको बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधीकरणमा मुद्दा दायर गरिएको हो ।

 

विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रवीन्द्र कुमार श्रेष्ठ, भवानी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ । उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सय समेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पीडितहरूलाई दिलाउने गरी निवेदन दिइएको छ ।

मेरिगोल्ड ओभरसिज प्रा.ली विरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारबाही गरिने विभागले जनाएको छ । विभागले यो आर्थिक वर्षमा ४ वटा संस्थाविरुद्ध ठगी मुद्दा दायर गरेको विभागका निर्देशक एवम् सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए ।