२०८१ बैशाख ७ , शुक्रवार

मधेस प्रदेश सरकारको आईसीटी अवार्ड वर्ल्डलिङ्कलाई

सुनाखरी न्युज / काठमाडौँ- वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

 

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यावसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो ।

 

यस कम्पनीले नेपालका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा वृहत् फाइवर नेटवर्क निर्माण गरी नेपालको ७५ जिल्लाहरूमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। यस कम्पनीले वर्तमान समयमा ६,४५,००० भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९,००० भन्दा बढी संस्ठालाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेकोछ।