२०८१ बैशाख ७ , शुक्रवार

खारेज भयो मार्जिन लेन्डिङको तल्लो सीमा

सुनाखरी न्युज / काठमाडौँ-  नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) को तल्लो सीमा औपचारिक रुपमै खारेज गरेको छ । बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यसअघिको मार्जिन लेन्डिङसम्बन्धी तल्लो सीमा हटाएको हो ।

 

योसँगै अब बैंक तथा वित्तीय संस्थाले एकै व्यक्तिलाई सेयर धितोमा बढीमा १२ करोड रुपैयाँसम्म लगानी गर्न पाउने भएका छन् । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा परिमार्जन गर्दै राष्ट्र बैंकले कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट प्राप्त गर्न सक्ने कर्जाको सीमा १२ करोड रुपैयाँ कायम गरेको हो । तर, यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

 

यसअघिको व्यवस्थामा एक व्यक्ति वा संस्थाले सेयर धितोकर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाहरूबाट गरी १२ करोड रुपैयाँसम्म कर्जा पाउन सक्ने व्यवस्था रहेको थियो ।