२०८० चैत्र १६ , शुक्रवार

सडक विनै ५ करोडको पुल

सुनाखरी न्युज/ काठमाडौं- गोरखाको दरौंदी नदीमा आठ वटा मोटरेबल पुल छन्। त्यसमध्ये सात वटालाई वारिपारि सडकले जोडेको छ। तर जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न पारि। पुलको एकापट्टि हराभरा धान रोपिएको खेत छ। अर्कातर्फ ठूलो पहरा अनि घना जंगल छ।

 

सडकै नभएको ठाउँमा मोटरेबल पुल बनेपछि स्थानीयवासी पनि चकित छन्। मन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गर्दै सडक नभएको ठाउँमा पुल बनाएको भन्दै लाभान्वित हुने स्थानीयवासीले समेत आलोचना गरेका छन्। गण्डकीका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत मन्त्री भएको बखत आफ्नै बेंसीको खेतमा सो पुल निर्माण गरेका स्थानीयवासीको आरोप छ। ५० मिटर लामो पुल ५ करोड ३९ लाख ८० हजार लागतमा बनेको हो। एचटीसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७७ जेठमा सम्झौता गरी काम सुरु गरेको सूचना अधिकारी अजय श्रेष्ठले जानकारी दिए। जेठ १२ मै सम्पन्न भइसक्नु पर्ने भए पनि हालसम्म भएको छैन।

 

पुल बने पनि सडक कहाँ बनाउने भन्ने निश्चित नभएको अर्का स्थानीय सीताराम सुनार बताउँछन्। ‘पहिले मोटरबाटो बनेर पुल बनेको भए सुल्टो हुन्थ्यो। तर पहिले पुल बनाएर अब रोड कहाँ बनाउने ? यहाँका मोहियाहरू जग्गा दिन्नौँ भन्छन्’, सुनारले भने, ‘पहिले बाटो बनाएर पुल बनाइदिया भए पो विकास, निकासै नभएको विकास के विकास।’ सोच विचार नगरी, रायसल्लाह नगरी काम भएको उनको गुनासो छ।

 

पूर्वमन्त्री बस्नेतको घलाङस्थित घरबाट उनको खेतसम्म लैजाने गरी तीन वर्षअघि नै कच्ची सडक निर्माण गर्न सुरु भएको थियो। तर सडक दरौंदीसम्म आइपुगेको छैन। सो बाटोमा मान्छे पनि नहिँड्ने गरेको अर्का स्थानीय मीनबहादुर तामाङ बताउँछन्। ‘घलाङबाट यतातिर झार्ने गरी कच्ची बाटो खन्न थालेको तीन वर्ष लागेको छ’, उनी भन्छन्, ‘तर त्यो बाटो अर्थहीन छ, किनभने बाटो र पुल आकाश पातालको फरकमा छ।