२०८१ बैशाख ४ , मंगलबार

भारतले कोसी ब्यारेजका ढोका नखोल्दा डुम्रिबोटेबाट कटान

सुनाखरी न्युज/ काठमाडौं- भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा बाढीले कटान गर्न थालेको छ। सप्तकोसी नदीमा पानीको बहाव तीब्र हुँदा पनि भारतले ब्यारेजका सबै ढोका नखोलेपछि नदीमा आएको बाढीले कटान गर्न थालेको हो। सुनसरी र उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ कटान गर्न थालेको छ। कोसी पश्चिम तटबन्दतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन्। सप्तकोसीले डुम्रिबोटेस्थित अस्थायी पश्चिम तटबन्धबाट कटान गरेको क्षेत्र।

 

कोसी ब्यारेजका सबै ढोका नखोलेकाले डुम्रिबोटेबाट नदीमा आएको बाढी श्रीलंका टापुतर्फ प्रबेश गरेको श्रीलंका टापुका स्थानीय विक्रम पाण्डेले बताएका छन्। बाढीले कटान तीब्र पारेपछि सप्तकोसीको बीच भागमा पर्ने श्रीलंका टापुका करिब २ हजार घर परिवार त्रासमा बस्न बाध्य भएको उनको गुनासो छ। सप्तकोसीमा आएको बाढीले पश्चिम तटबन्ध भत्काएर कटान थालेको स्थानीयले बताएका छन्। तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रींलका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ का बद्रि राईले बताए। उनले कोसी ब्यारेजका सबै ढोका खोल्न सरकारसँग माग गरे।

 

लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। तर भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका बासिन्दा त्रसित भएका छन्। बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिएको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सबै ढोका नखोल्दा कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ। सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीय शिक्षक सन्तोष चन्द्रबंसिले बताए। उनले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्बसाधारणको अवस्था सहज बनाउन सरकारसँग माग गरे।

 

सप्तकोसीमा सोमबारदेखि पानीको बहाव निरन्तर बढिरहेको छ। प्रजिअ यादवले कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको बताए। उनले भारतसँग कोसी ब्यारेजका सबै ढोका खोल्नसमेत अनुरोध गरिएको जानकारी दिए।