२०८० चैत्र १५ , बिहिवार

बेपत्ता किशोरको शव फेला

सुनाखरी न्युज/ काठमाडौं- झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।

 

गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्जवल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

 

उज्जवल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुन धुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो । रासस