२०८० चैत्र १६ , शुक्रवार

भागेका अध्यक्षले भने : बचतकर्ताको रकम फिर्ता गर्छौं

सुनाखरी न्युज/ काठमाडौं- राजधानीको कुलेश्वरस्थित गौतमश्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले आफू नभागेको बताएका छन् । बचतकर्ताको अर्बौं रुपैंया कुम्ल्याएर टाप कसेको समाचार बाहिर आएपछि उनले आज विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका हुन् ।

 

आफू काम विशेषले नेपाल बाहिर गएको र मोबाइल सम्पर्क नभएको अवस्थालाई आधार बनाई प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उनले बताएका छन् । कोरोना महामारीका कारण झण्डै दुई वर्ष जारी लकडाउनले पारेको समस्याका बाबजुद पनि सहकारीले बचतकर्ताको रकम निरन्तर रुपमा फिर्ता गरिरहेको दाबी गरेका छन् । उनले अप्रत्याशित रुपमा प्रकाशित र प्रशारित समाचारले बचतकर्तामा त्रास पैदा गराएको विज्ञप्तिमा उल्लेख छ ।अध्यक्ष गौतमले आफ्ना परिवारका सदस्यलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्नेलगायत धम्की आइरहेको उल्लेख गर्दै सुरक्षाको प्रत्याभूत भएपछि कार्यालय नियमित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

‘म तपाईहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भए पनि केही महिनाभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ । साथै, उनले आफ्नो र संस्थाको सुरक्षाको प्रत्याभूत गराइदिन भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र प्रहरी प्रशासनसमक्ष आग्रहसमेत गरेका छन् ।गौतमले विज्ञप्तिमा घटनालाई सामान्य ढंगले उल्लेख गरे पनि उक्त सहकारीको भवनलगायत सम्पत्ति एभरेष्ट बैंकले रोक्का राखेको छ । लामो समयदेखि बचतकर्ताको रकम फिर्ता भएको छैन ।