२०७९ श्रावण २७ , शुक्रवार

विप्लव समूहका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताउनुभएको हो । उहाँले सरकारले विप्लवलगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको हो भने सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन आग्रह गर्नुभयो ।

 

सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मिहेनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । सांसद भट्टराईले विपद् व्यवस्थापन प्राधिकरण निस्क्रिय भएको भन्दै नेपाल सरकार र स्थानीय सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण संकलन गरी जनतालाई राहत दिन आग्रह गर्नुभयो । उहाँले भूकम्पको तत्काल क्षतिको विवरण संकलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप लगाउनु भयो ।