२०८१ बैशाख ७ , शुक्रवार

पर्वत अस्पतालमा एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती भएपछि बिरामीलाई सास्ती

सुनाखरी न्युज/ काठमाडौं – गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ। कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चारजना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो। उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याबलगायत विभिन्न भागमा कार्यरत रहँदै आएका थिए।

प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताइन्। जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने आशा भए पनि जनशक्ति अभावले जिल्लावासी निराश बनेका छन्।

पन्ध्र शय्याको अस्पताललाईस्तर वृद्धि गरेर ५० शय्या क्षमताको बनाउने योजना अनुसार करोडौँको लगानीमा आधुनिक भवन बनेका छन्। पुरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण भएपछि सेवा विस्तार हुनुपर्नेमा सेवा झनै साँघुरो बन्ने अवस्था आएको छ। “नयाँ भवनमा सरेपछि त झनै सेवा विस्तार हुनुपर्ने हो। तर यही बेलामा कर्मचारीको करार थप नभएपछि कसरी सेवा बढाउन सक्नु, भएकै कर्मचारीले पनि कार्यालय समयको भन्दा बढी समय दिएर अहिलेसम्म धानिरहेका छौँ”, डा अधिकारीले भनिन्, “अस्पतालमा कोठा छन्, सुविधायुक्त शय्या छन्, आधुनिक प्रविधिका उपकरण छन्। नागरिकको ठूलो विश्वास हामीप्रति रहेको छ। तर जनशक्तिको अभावमा नागरिकको अपेक्षा पूरा हुननसक्ने अवस्था छ।”

अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार अहिले अस्पतालमा आठ जना मेडिकल अधिकृत, दुई जना डेण्टल अधिकृत, ल्याबमा पाँच जना, इमर्जेन्सीमा पाँच जना, इनडोरमा छजना, एक्सरेमा दुई जना, फार्मेसीमा तीन जना र काउन्टरमा पाँच जना कार्यरत रहेका छन्। यी बाहेक सरकारी तथा गैह्रसरकारी संस्थाले विभिन्न कार्यक्रममार्फत उपलब्ध भएका केही कर्मचारी कार्यरत रहेका छन् भने त्यसरी आएका केही कर्मचारीको पनि करार सम्झौता सकिएको छ। अहिले दुई जना कार्यालय सहयोगीसहित १२ जना कर्मचारी स्थायी दरबन्दीमा रहेका छन्।

 

“बाह्र जना स्थायी कर्मचारीको भरमा त यत्रो अस्पताल चल्ने कुरा नै भएन। करारका कर्मचारीको ठूलो भर छ तर उहाँहरूकै सेवा करार सम्झौता थप नभएपछि कसरी यहाँको सीमित जनशक्तिले भार थेग्न सक्ला ” उनले भनिन्, “बिरामी भर्ना गरेर राखौँ, हेर्ने स्वास्थ्यकर्मीको अभाव हुन्छ। ओपिडिमा भएको उस्तै चापलाई कसरी धान्ने बिरामी अन्यत्र जानुपर्ने बाध्यता आयो।”

अस्पताललाई ५० शय्या क्षमतामास्तर वृद्धि गर्नका लागि ‘ओ एन्ड एम’ गरेर प्रदेशले स्वीकृति दिएपछि मात्रै ५० शय्या अनुसारको जनशक्ति र अन्य स्रोत तथा सुविधा थप हुने भएकाले प्रदेशको स्वीकृतिको पर्खाइमा आफू रहेको मेडिकल सुपरिटेन्डेन्ट डा अधिकारीको भनाइ छ। कोभिडको सङ्क्रमण फेरि बढ्दै गइरहेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको झनै आवश्यकता परेको बेलामा उनीहरूकै सेवा सम्झौता नहुँदा बिरामीले सास्ती खेप्नुपर्ने उनको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालमा रहेको यो समस्याका बारेमा प्रदेशमा कुराकानी गरेको बताइन्। प्रदेशले गर्ने निर्णय आफूहरूले चाहेकै बेलामा नहुने भएकाले तत्कालका लागि समस्या समाधान गर्न स्थानीय तहले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। रासस