२०८१ बैशाख ११ , मंगलबार

करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर–देउरानीको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको छ। सोमबार दिउँसो साढे १ बजेतिर राप्ती वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो।

 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले उनीहरूको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनीहरूका तीन वर्षीय छोरा छन्। करेन्ट लागेकी बासुकी भाउजू २७ वर्षीया भिमा सामान्य घाइते भएकी छिन्। स्थानीय अस्पतालमा उपचारपछि सोमबार बेलुका उनको डिस्चार्ज भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए। दुइटा खम्बाको बीचमा बाँधेको तारमा कपडा सुकाउन जाँदा उनलाई खम्बामाथिबाट प्रवाह भएको करेन्टले छोएको थियो। घटनास्थलको प्रकृति नियाल्दा पानी परेको हुँदा जस्तापाताबाट करेन्ट प्रवाह भएको अनुमान गरिएको प्रहरी निरीक्षक शाहले बताए।

 

‘भाउजू भिमालाई करेन्ट लागेपछि बचाउन भनेर देउरानी हिमा दक्षिण कुनोबाट र देवर बासु उत्तरतर्फबाट दौडिएर गएको देखिन्छ,’ शाहले भने, ‘पहिला हिमाले भिमालाई तान्न खोजिन्। उनलाई पनि करेन्ट लागेपछि बासुले हिमालाई तान्न खोजेको देखिन्छ। हिमालाई छुटाउन बासुले काँचो काठले तारमा हानेको र तार चुँडिएर उनको शरीरमा परेपछि उनको पनि घटनास्थलमै मृत्यु हुन पुग्यो।’ करेन्ट लागेर मृत्यु भएका बासु र हिमाको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।