२०८१ बैशाख ११ , मंगलबार

शेयर बजारमा झिनो अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले बढेको छ । आज नेप्से १.१५ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब २५ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज नेप्सेमा चार अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बुछवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको हो ।

 

नेप्सेका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ३८ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।