२०८१ बैशाख १३ , बिहिवार

बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट रकम लिएको खुलासा!

सुनाखरी न्युज/ काठमाडौं- बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट दस लाख पाउन्ड लिएको खुलासा भएको छ। सन्डे टाइम्सको रिपोर्टअनुसार चार्ल्सले लादेनका दुई सौतेनी भाइहरूबाट सन् २०१३ मा यो रकम लिएको सार्वजनिक भएको बिबिसीले लेखेको छ।

 

यो रकम चार्ल्सको परोपकारी संस्था ‘प्रिन्स अफ वेल्स च्यारिटेबल फन्ड’ ले लिएको हो। यो कोषको स्थापना सन् १९७९ मा भएको थियो। यसले बेलायतसहित विश्वभरका विभिन्न परियोजनालाई अनुदान दिन्छ। यो कोषले सन् सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको बिबिसीले लेखेको छ। उनीहरू पूर्व अलकायदा नेता ओसामा बिन लादेनका सौतेनी भाइहरू हुन्। आतंकवादी गतिविधिमा संलग्न लादेन सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका थिए। बिबिसीका अनुसार सल्लाहकारले उक्त अनुदान नलिन आग्रह गरेका थिए। तर संस्थाले आग्रह अस्वीकार गर्दै रकम लिएको थिए।

 

राजकुमार चार्ल्सको क्लारेन्स हाउस अफिसले पनि अनुदान लिएको पुष्टि गरेको छ। लादेनको परिवारबाट आएको उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमार चार्ल्सको नभएर संस्थाकै जिम्मेवार अधिकारीहरूले लिएको बताइएको छ। उक्त संस्थाका तत्कालीन पाँच उच्च अधिकारीको पूर्ण सहमतिमा अनुदान रकम लिइएको भन्दै यसबारे अन्य कुरा भ्रामक भएको कोषका अध्यक्ष इयान चेशायरको भनाइ छ।

 

त्यस्तै ओसामा बिन लादेन सन् १९९४ मा परिवारबाट अलग भइसकेकाले उनका ती दुई भाइ उनले गरेका क्रियाकलापमा सहभागी छन् भनेर भन्न सक्ने अवस्था नरहेको बिबिसीले जनाएको छ। ७३ वर्षीय चार्ल्सले यसअघि कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेको खबर पनि सन्डे टाइम्सले लेखेको थियो।एजेन्सी