२०८१ बैशाख ७ , शुक्रवार

‘राहदानी बनाइदिन्छु’ भन्दै ठगी गर्ने चार पक्राउ

सुनाखरी न्युज/ काठमाडौं- राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। काठमाडौं महानगरपालिका-११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङका २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का २२ वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलका ४१ वरेषीय विवेक गुरूङ छन्। गुरूङ रोज बर्ड नामक फोटो स्टुडियोका सञ्चालक समेत हुन्।

 

उनीहरूले राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई तुरून्तै एकै दिनमा राहदानी बनाइदिन्छु भनेर फकाइरहेका थिए। त्यसरी राहदानी बनाई किर्ते तथा ठगी गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। सो सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट अनलाइन फारमका ३२ वटा फारम, तीन वटा ल्यापटप लगायत बरामद गरेको हो।

 

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।