२०८० चैत्र १६ , शुक्रवार

पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरिवाना

सुनाखरी न्युज/ काठमाडौं ।

विभागबाट पूर्वस्वीकृति लिई  विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ३ र ४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।

 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार कोटामा कामदार माग भएमा मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसरी विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

दफा ४९ मा कुनै इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई ५० हजार रुपैयाँ जरिवाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने व्यवस्था छ । दफा १६ मा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।