२०८१ बैशाख ७ , शुक्रवार

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र, अन्य सहकार्य भने जारी राख्न आग्रह

सुनाखरी न्युज/ काठमाडौं ।

परराष्ट्रमन्त्री खड्काद्वारा एसपीपीमा सहभागी नहुने सम्बन्धमा गत सोमबार पत्राचार भएको जानकारी, काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा पत्र प्राप्त भएको पुष्टि

सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई औपचारिक पत्राचार गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने जानकारी गराएको छ । एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद् बैठकले गत असार ६ मा निर्णय गरेको एक महिना तीन दिनपछि परराष्ट्र मन्त्रालयले साउन ९ मा पत्र पठाएको हो ।

सांसदले निरन्तर प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठकमा शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्काले पत्र पठाइसकेको जानकारी दिए । त्यसलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीले नेपाल सरकारबाट एसपीपी अस्वीकार गर्ने सम्बन्धको पत्र प्राप्त भएको पुष्टि गरे । दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्करसनले भने, ‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं, हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्ण रूपमा स्वीकार गर्छौं ।’

सरकारले भनेको छ, ‘एसपीपीलाई हामी स्वीकार गर्दैनौं तर नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई भने निरन्तरता दिन चाहन्छौं ।’ पत्रमा नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि स्पष्ट पारिएको छ ।

परराष्ट्रमन्त्री खड्काले पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको बताए ।  उनले स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर राष्ट्रिय हित सुरक्षित गर्न सरकार सक्षम रहेको पनि बताए । सरकारले वैदेशिक सहयोग स्वीकार गर्दा मुलुकको सर्वोपरी हितलाई प्राथमिकता राख्ने गरेको भन्दै मन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको पनि दोहोर्‍याए ।

नेपाल सरकारको अनुमतिमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिले २०१५ र २०१७ मा पत्राचार गरेपछि नेपालले सन् २०१९ मा एसपीपीको सदस्यता पाएको अमेरिकी भनाइ छ । तर, यो साझेदारीमा सहभागी नहुने भनेर औपचारिक पत्र लेखिसकेकाले नेपालका लागि एसपीपीको अध्याय बन्द भएको छ ।