२०८० चैत्र १६ , शुक्रवार

बर्खायाममा यस्तो खानेकुराहरु खानुस्

सुनाखरी न्युज /काठमाडौं – अहिले बर्खायाम चलिरहेको छ । बर्खायाममा खानामा पनि सचेत हुनुपर्ने अवस्था आउँछ । यस्तो बेलामा खानपानमा सतर्कता नअपनाउँदा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन ।  पानी धेरै पर्ने भएकाले यो बेला मौसम ओसिलो भइरहन्छ । जसकारण तिर्खा पनि कम लाग्छ र आवश्यक पानीको परिपूर्ति शरीरमा हुन पाउँदैन ।

 

यो बेला ढिलो पच्ने, तेलमा तारेका खानेकुरा, बढी मसलाजन्य, चिल्लो पदार्थ बढी भएको खाना, मिठाइ लगायत एकदमै कम खानुपर्छ । यो मौसममा आद्र्रता बढी हुने कारण यी खानेकुराले शरीरमा पसिना धेरै आउने हुन्छ । यो बेला पाचनप्रणाली पनि तुलनात्मक रुपमा कम हुन्छ । त्यसैले शरीर अनुकूल खानेकुरा खानु राम्रो हुने ठकुराठी बताउँछिन् ।‘गर्मी मौसमको खानेकुरा हलुका हुनुपर्छ, यो समयमा शरीरलाई खाना पचाउन गाह्रो हुन्छ । । यो बेलामा सर्तकता अपनाएर खाना खाइएन भने अरु संक्रमण बढाउँछ ।’ पोषणविद्ले बर्खायाममा कस्तो खानेकुरा खानुपर्छ भनेर यसरी सुझाव दिएकी छन्

 

 

बर्खायाममा दही सबैभन्दा राम्रो दूधजन्य पदार्थ हो । दहीले पाचनशक्ति पनि बढाउँछ भने स्वास्थ्यमा अन्य हिसाबले पनि राम्रो गर्छ । तर दही सेवन बिहान र दिउँसो मात्रै गर्नुपर्छ । बेलुकी दही खाँदा चिसो लाग्न सक्छ । बर्खायाममा मांसाहारी भन्दा शाकाहारी खानाले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग गर्छ । शरीरलाई शीतलता प्रदान गर्ने सागसब्जी, सलाद खाँदा लाभदायक हुन्छ । धार्मिक परम्परा अनुसार कतिपय व्यक्तिले असार चर्तुमास सुरु भएदेखि साउन महिनाभरि माछामासु खाँदैनन् । यो स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । यो मौसममा माछा, मासु, अण्डा र अन्य मासुजन्य खानेकुरालाई कम गरेकै राम्रो हुन्छ ।

 

फलफूलमा प्रशस्त पानी र फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई फाइदा गर्छ ।बर्खायामा आँपको सिजन पनि भएकाले यो बेला अत्यधिक मात्रामा आँप खाने गरिन्छ । तर आँप गर्मी गराउने फल हो । त्यसैले आँप खाँदा सिधै खानु भन्दा आपँको मुखलाई काटेर एकदेखि दुई घण्टा आधा डुब्ने गरेर पानीमा घोप्टो पारेर राखेर खानुपर्छ । यसरी खाएको आँपले शरीरलाई शीतल दिन्छ ।जमुना, आलुबखडा, चेरी, नास्पाती लगायतका फलफूल तथा हरियो मकै खानु फाइदाजनक हुन्छ ।

 

 

पहिला गाउँघर होस वा सहरमा गर्मी मौसममा कागतीको सर्बत, दही, मोही खाने चलन थियो । तर आजभोलि यी कुरालाई बेवास्ता गर्दै शरीरलाई शीतल दिने निहुँमा कोल्ड ड्रिंक्स पिउने संस्कार बसेको छ । यसले शरीरलाई बेफाइदा गर्छ ।त्यसैले गर्मी छल्नका लागि बोत्तलमा बन्द गरिएका पेय पदार्थ खान सकेसम्म बन्द गर्नुपर्छ । दूधजन्य पेय पदार्थ पहुँचमा नभए पानीमा मिश्री र कागती घोलेर खानु हितकारी हुन्छ ।