२०८१ बैशाख १२ , बुधवार

बलात्कारका आरोपी सिद्धबाबाको महायज्ञमा मन्त्री र महान्यायाधिवक्ता गएको भन्दै एमालेको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले बलात्कारका आरोपित सिद्धबाबा भनिने कृष्णप्रसाद गिरीको महायज्ञमा महान्यायाधिवक्ता गएकोप्रति गम्भीर प्रश्न उठाएको छ । एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले बलात्कारका आरोपितको कार्यक्रममा मन्त्री र महान्यायाधिवक्ताजस्ता सरकारी अधिकारी जाँदा एकातर्फ कानुन उल्लंघन भएको र अर्कोतिर पीतिलाई मनोवैज्ञानिक असर परेको भन्दै आपत्ति जनाइन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तुम्बाहङ्फेले अदालतमा विचाराधीन मुद्दाका आरोपितको अगाडि मन्त्री र महान्यायाधिवक्ता नै उपस्थित हुनु गम्भीर विषय भएको बताइन् । ‘पशुपतिनाथको परिसरभित्र ९ दिने महायज्ञ सत्र्चालन भइरहेको भन्ने कुरा सुनिरहेका छौं । सबैतिर चर्चाको विषय बनिरहेको छ । सो महायज्ञमा सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दासँग गाँसिएका आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका व्यक्ति पनि संलग्न छन् भन्ने कुरा सबैले बुझेकै छन्,’ उनले भनिन्, ‘अदालतमा विचाराधीन मुद्दाको बारेमा भन्नु केही छैन । तर सो मुद्दासँग जोडिएका व्यक्ति कृष्णबहादुर गिरी अर्थात् सिद्धबाबा जोडिएको जहाँ सरकारका प्रतिनिधि मन्त्री, सरकारी वकिलको प्रमुख महान्यायाधिवक्तासमेत सो महायज्ञमा गएर आफ्नो उपस्थितति जनाएँदा यो मुलुकका महिलाले र जनताले के ठानेका छन् ? छन् भने सोच्ने कि नसोच्ने ?’

 

सर्वोच्च अदालत र पुनरावेदन अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको व्यक्तिलाई महायज्ञ गर्ने छुट दिएको र त्यसैमा मन्त्री र महान्यायाधिवक्ता जानु गम्भीर विषय रहेको तुम्बाहाङ्फेको भनाइ थियो । ‘सो मुद्दामा आरोपित व्यक्ति मुद्दाको फैसला हुन्न तबसम्म सर्वोच्च अदालत र पुनरावेदन अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्नु भनेर आदेश दिएको सुनेका छौं । त्यसरी साधारण तारेखमा छोड्न भनेर अदालतले आदेश दिँदाखेरि अदानलतका न्यायाधीशले सादा तारेखमा छोड्दा न्यायाधीशको कार्यक्षमतामा प्रश्न खडा भएको छ ।

 

त्यसैले त्यस विषयमा छानबिन हुन्छ कि हुन्न ?,’ उनले प्रश्न गरिन्, ‘हाम्रो कानुन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन सरकारले सोच्ने कि नसोच्ने ? आरोपित व्यक्ति जबसम्म फैसला हुन्न तबसम्म त्यो व्यक्तिलाई कसरी हेर्ने ? शक्ति केन्द्रले माथिल्लो तहका व्यक्तिसँग जोडिएर त्यस्तो काम गर्दा पीक्षडित पक्षले के सोचेका होलान् ?,’ मन्त्री र महान्यायाधीवक्ता नै त्यसरी पीडकको दायाँबायाँ सार्वजनिक मञ्चमा बसेर अनुयायी बन्दा पीडकलाई मनोवैज्ञानिक असर पर्ने तुम्बाहाङ्फेको भनाइ थियो । ‘मन्त्री नै त्यो महायज्ञमा जाँदा पीडितलाई मनोवैज्ञानिक असर पर्‍यो कि परेन ? त्यस्ता व्यक्तिलाई प्रशय दिएर पीडित पक्षलाई अन्याय गर्न मिल्दैन,’ उनले भनिन् ।

 

पशुपति परिसरमा गिरीले महायज्ञ गरिरहेका छन् । उनलाई आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ । उनको महायज्ञमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र महान्यायाधिवक्ता खम्मबहादुर खाती सो महायज्ञमा उपस्थित भएर बलात्कारका आरोपित गिरीको दायाँबायाँ बसेका थिए । विवादित सिद्धबाबाका कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू सहभागी हुँदै आएका छन् ।