२०८१ बैशाख १३ , बिहिवार

मुसाले विद्युतीय संरचनाका तारबार तहसनहस,आधा जिल्ला बिजुली विहीन

सुनाखरी न्युज/ काठमाडौं- मुसाले विद्युतीय संरचनाका तारबार तहसनहस बनाएपछि बिहीबार साँझदेखि यहाँको आधा स्थानीय तह विद्युत्‌विहीन भएको छ । सिन्धुपाल्चोक जलविद्युत् वितरण केन्द्रका प्रमुख विपिन दाहालकाअनुसार जलविद्युत्‌को सबस्टेसन कन्ट्रोल प्यानलमा छिरेको मुसाले विद्युतीय संरचना तारबारसहित अन्य सामग्रीहरु क्षतिग्रस्त बनाएको हो ।

‘मुसा छिरेर भित्रैसम्म गएपछि कन्ट्रोल प्यानलमा क्षति पुगेको छ, त्यसैले बिजुली बनाउने क्रमलाई धेरै समय लाग्ने देखिएको छ । बिजुली फर्काउन प्रयासरत छौं, सफल हुन सकेका छैनौं, रातबीच पनि कर्मचारी खटिरहेका छन्, ’ प्रमुख दाहालले बिहीबार साँझ भनेका थिए । शुक्रबार बिहानसम्म पनि अवस्था जस्ताको तस्तै छ ।

 

साँझदेखि गएको बिजुली रातिसम्म नबन्दा विशेष गरी जिल्लाको बाह्रबिसे नगरसहित बलेफी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, जुगलसहित अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा भएका बिरामी समस्यामा परेका छन् । इमरजेन्सीका बिरामी र अन्य स्थानीयको समस्याबारे सबैतिरबाट गुनासो आएपछि वितरण केन्द्रमा बिजुली बनाउन दबाब दिइरहेको जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । ‘प्राधिकरणले जानकारी दिएअनुसार एउटा मुसाले गर्दा आधा जिल्ला अँध्यारो भएको छ, बाह्रबिसेसहित अन्य अस्पतालमा आएका ‘इमजेन्सी’ बिरामी नहुँदा तनावपूर्ण अवस्थामा छन्, जेनेरेटर नभएका स्वास्थ्य केन्द्रले मलाई गुहारिरहेका छन्,’ उनले भने ।

 

मुसाले तार काटेर भित्री प्राविधिक संरचनामा भएको क्षतिबारे हेर्दै तत्काल मर्मतसम्भारमा प्राधिकरणमा कर्मचारी लागिरहेको आफूले सूचना पाएको उनको भनाइ छ । ‘बिरामीका आफन्त हामीलाई गुहारिरहेका छन् के गर्ने ?,’ उनले प्रश्न गरे ।