२०८० चैत्र १५ , बिहिवार

पैसा निकालेको आरोपमा श्रीमतीको हत्या!

सुनाखरी न्युज/ काठमाडौं- श्रीमतीको हत्या आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ।

 

घटना विवरण अनुसार सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो। श्रीमान र छोरासँग बस्दै आएकी सावित्री मृत फेला परेपछि इलाका प्रहरी कार्यालय सालझण्डीले यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। मृतक सावित्रीको शरीरका विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएपछि उनको हत्या भएको ठहर गर्दै अनुसन्धान गर्दै जाँदा पैसा चोरी गरेको आरोपमा यमबहादुरले श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ।

 

हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षकका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइदिने र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन्।

मरासिनीले क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताए।