२०७९ श्रावण ३० , सोमवार

दिनदहाडै महिलाको साथमा रहेको रकम लुटेर भागेका दुई युवक पक्राउ

सुनाखरी न्युज / जनकपुरधाम – जनकपुरधाममा दिनदहाडै पैसा लुटेर भागेका युवा पक्राउ परेका छन् । बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

 

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा –७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दीपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो । जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका उनीहरूले शर्मिलाको साथमा रहेको रकम लुटेर फरार भएका थिए।साउदीमा रहेका शर्मिलाका श्रीमान देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाइकलमा दुवैजनाले शर्मिलाले बोकको झोला हातबाट लिएर भागेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले पत्रकार सम्मेलनमा बताए।

 

 

उक्त मोटरसाइकल खोजतलास गर्दै जाने क्रममा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित कृष्ण प्रसाद साहको घरमा फेला परेको र उनको घर खानतलासी गर्दा घरभित्र रहेको सुत्ने कोठाको पलङको घर्रा बक्समा शर्मिलाको हातबाट लुटेर लगेको नगद र मोबाइलमध्ये मोबाइल र नगद ५४ हजार फेला परेको थियो । जितेन्द्रलाई साथमा लिई दीपेन्द्रलाई खोजतलास गर्दै जाँदा उनलाई पनि आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको थियो ।

 

 

उनको घर तलासी गर्दा घरबाट शर्मिलाको लुटिएको रकम मध्ये ७८ रुपैयाँ बरामद भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । सोही घरमा लुकीछिपी बसेको अवस्थामा कृष्णका भाई जितेन्द्रलाई फेला पारिएको थियो। जितेन्द्रलाई घटना सम्बन्धमा सोधपुछ गर्दा आफू र दीपन्द्रले मिलेर शर्मिलाको पैसा लुटि दुबैजनाले १÷१ लाख रुपैयाँ बाँडेको स्वीकार गरेका थिए । त्यसपछि दिपेन्द्रलाई पनि उनकै घरवाट पक्राउ गरिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।