२०८१ बैशाख १२ , बुधवार

नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाहको देन :डा. लोहनी

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरिरहेको उनले बताए ।

 

‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दाबी युक्तिसंगत छैन,’ उनले भने, ‘किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् ।’ पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरेको र जनआकांक्षाअनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्रिक परिपाटी व्यवहारमा लागू गरेको उनको दाबी छ । शाहले राज्य सञ्चालनका विहंगम नीतिहरु लागू गरेर विशाल नेपाल बनाएको नेता लोहनीले बताए । त्यसकारण अन्य राजनीतिक दलहरुले विदेशीहरुको तस्बिर राखेर विदेशीहरु पुज्ने गरे पनि राप्रपाले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई सर्वदा सम्मान गर्ने गरेको लोहनीको भनाइ थियो ।

 

‘पृथ्वीनारायण शाहका नीतिहरु, २५० वर्षपछि, अहिले पनि उतिकै सान्दर्भिक छन्,’ लोहनीले भने, ‘जसले जे भने पनि, वास्तवमा पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै हुन्, यसमा कुनै द्विविधा छैन ।’राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपाका पूर्वअध्यक्षले यस्तो विचार प्रस्तुत गरेका हुन् । नेपाल दुई ढुंगाबीचको तरुल भन्ने पृथ्वीनारायण शाहको परराष्ट्र नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनले निर्यात अत्यन्तै कमजोर र आयात मात्रै व्याप्त रहेको समयमा, विदेशी वस्तुलाई रोक लगाउनु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु भन्ने शाहको दिव्यवाणी आर्थिक सम्पन्नताको सूत्र भएकाले अनुकरणीय रहेको उनले बताए ।

 

‘नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाहको देन अहिलेको अवधारणामा राष्ट्रियता र समावेशीकरणको आधार हो, समावेशी राष्ट्रवाद हो । घुस लिने र दिने दुबैलाई दण्डित गर्नुपर्छ भन्ने शाहको विचार, भ्रष्टाचार विरुद्धको उच्चतम व्यवस्था हो,’ युवा भेलालाई सम्बोधन गर्दै लोहनीले भने । युवा संगठन को कार्यक्रम संगठनका अध्यक्ष फणिराज लोहनी को अध्यक्षतामा भएको थियो।