२०८१ बैशाख ७ , शुक्रवार

शेयर बजारमा सुधार, २३ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । मंगलबार उच्च अंकले घटेका नेप्से आज फेरि बढेको हो ।

 

आज नेप्से २३.८३ अंकले बढेर दुई हजार एक सय ११ दशमलब १९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा तीन अर्ब १६ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब ७२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेप्सेका अनुसार आज कुमारी धनवृद्धि योजनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।