२०८० चैत्र १५ , बिहिवार

ककनीमा देखियो हैजा

सुनाखरी न्युज/ काठमाडौं- गएको असार ५ गतेदेखि काठमाडौंमा फैलिएको हैजाको संक्रमण अहिलेसम्म चार जिल्लामा देखिएकोे छ । काठमाडौं उपत्यकाका तीनसहित नुवाकोटको ककनीमा समेत हैजा संक्रमित भेटिएका छन् ।

 

यो सँगै यो वर्ष हैजा संक्रमितको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा आठ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक/एकजनामा हैजा संक्रमण देखिएको छ ।

 

यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक/एकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

हालसम्म परीक्षणका क्रममा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।