२०८१ बैशाख ८ , शनिवार

स्थानीय चुनावमा लोकप्रिय मतमा कांग्रेस पहिलो: निर्वाचन आयोग

सुनाखरी न्युज/ काठमाडौं ।

 

स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको निर्वाचन आयोगले बताएको छ ।

आयोगमा मंगलबार  आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले ३० वैशाखमा भएको निर्वाचनमा  नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।

 

आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

 

माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।