२०८१ बैशाख ८ , शनिवार

शेयर बजार राताम्मे, ४४ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट भएको छ ।

 

नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीति पछि शेयर बजारमा निरन्तर वृद्धि भइरहेको थियो । तर, मंगलबार भने उच्च अंकले घटेको हो । आज नेप्से ४४.८० अंकले घटेर दुई हजार ८८ दशमलब १६ विन्दुमा बन्द हो । सोमबार नेप्से ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा बन्द पुगेको थियो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।

 

आज नेप्सेमा तीन अर्ब ७२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ९.३२ प्रतिशतले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १९ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।