२०८० चैत्र १६ , शुक्रवार

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 

नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उहाँले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताउनुभयो । हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो ।

 

उहाँका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ । पक्राउमा परेका व्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।