२०८१ बैशाख १२ , बुधवार

प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।

 

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरूले प्रधानमन्त्री देउवाको विरुद्धमा नाराबाजी गरेका थिए । उनीहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौं’,’स्वाधिनताको रक्षा गरौं’, ‘नागरिकता विधेयक खारेज गर्’, ‘एमसीसीको मतियार मुर्दावाद’ लगायतका नारा लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले वीर सहिदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।

 

प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले पृथ्वीनारायण शाहको पालाबाट सुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने बताए । प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्त्वपूर्ण आर्थिक सुधारका कार्यहरु गर्नुभएको उल्लेख गरे ।