२०८१ बैशाख ८ , शनिवार

७० बढी देशमा देखियो मंकीपक्स संक्रमण,यस्ता छन लक्षण

सुनाखरी न्युज/ काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्। यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ।विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ। मंकीपक्स एक भाइरल संक्रमण हो। मंकीपक्स नामको भाइरसका कारण यो रोग लाग्छ। -+96सन् १९५० को दशकमा यो भाइरस प्रयोगशालामा बाँदरमा देखिएको थियो। त्यसैले यसको नाम मंकीपक्स भाइरस रहन गएको हो।मंकीपक्सका दुई प्रकार छन्। एउटा सामान्य किसिमको पश्चिम अफ्रिकी लहर र अर्को गम्भीर प्रकृतिको मध्य अफ्रिकी वा कंगोको लहर हो।

 

अहिले फैलिएको मंकीपक्सको संक्रमण पश्चिम अफ्रिकी लहर हुन सक्ने अनुमान छ। तर, अहिलेसम्म सबै मुलुकले यस विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरेका छैनन्।विश्व स्वास्थ्य संगठनका अनुसार यो संक्रमण धेरै मामिलामा पुरुष–पुरुषबीचको यौन सम्पर्कको कारण सर्ने गरेको पाइएको छ। डब्ल्यूएचओका अनुसार यो संक्रमण धेरैजसो अफ्रिकी क्षेत्रका मानिसहरुसँग सम्बन्ध भएका र तेस्रो लिङ्गीहरुमा फैलिइरहेको देखिएको छ।

 

पछिल्लो एक अध्ययनले मंकीपक्सको संक्रमण देखिएका मध्ये करिब ९५ प्रतिशतमा यौनजन्य गतिविधिबाट संक्रमण भएको पाइएको छ। यो संक्रमण एउटा मानिसबाट अर्कोमा सजिलै भने सर्दैन। त्यसका लागि निकट सम्पर्क हुनु जरुरी हुन्छ। यद्यपि छालामा छाला जोडिने किसिमको सम्पर्क, एउटै कपडा, खाट प्रयोग गर्ने, जूठो खानेजस्ता कार्यबाट भने मंकीपक्स सर्ने सम्भावना हुन्छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार यो संक्रमण अर्को मानिसमा सर्न ठूलो मात्रामा एउटा जीवाणु अर्को मानिसको शरीरमा प्रवेश गर्नुपर्ने हुन्छ। त्यसैले यो संक्रमण केही पर रहेको व्यक्तिबाट हावाको माध्यमबाट सर्ने सम्भावना कम हुन्छ।

 

मंकीपक्स लागेका मानिसहरुमा निम्न लक्षण देखिन सक्छ

· ज्वरो आउनु

· टाउको दुख्नु

· मांसपेशी र ढाड दुख्नु

· शरीरमा गाँठोहरु देखिनु

· अत्यधिक थकान महसुस हुनु

· शरीरका विभिन्न भागमा डण्डीफोरजस्ता विविराहरु देखिनु

 

अहिलेसम्म मंकीपक्सको उपचारका लागि कुनै पनि औषधि बनेको छैन। तर, पुराना केही खोपले यो संक्रमण नियन्त्रण गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन्।विशेषगरी स्मलपक्स नियन्त्रणका लागि बनाइएको खोप मंकीपक्स संक्रमण नियन्त्रणका लागि ८५ प्रतिशत प्रभावकारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्।