२०८१ बैशाख ७ , शुक्रवार

चार वर्षीया बालिकाको जबरजस्ती करणी गरी हत्या गर्ने तीन जना पक्राउ

सुनाखरी न्युज/ पर्सा। चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।

 

बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो । घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरेको खुल्न आएको हो । घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका-२ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो ।

 

उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।