२०८० चैत्र १५ , बिहिवार

तेलको आयात दोब्बरले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं। कच्चा तेलको मूल्य बढ्दा आयात दोब्बरले बढ्यो। एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमै खर्बौं रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ मा पेट्रोलियम पदार्थको आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो ।

 

जुन, अघिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट बाहिरिएको रकमभन्दा १ खर्ब ५६ अर्ब बढी हो । विभागका अनुसार पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धन (एटीएफ) आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो । यो गत आर्थिक वर्षको साउन–असारसम्मको अवधिमा बाहिरिएको रकम हो । यस अवधिमा नेपालबाट सबैभन्दा धेरै रकम डिजेलको आयातमा बाहिरिएको छ ।

 

१२ महिनाको अवधिमा नेपालबाट डिजेलको आयातमा मात्रै १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । यसबापत नेपाल आयल निगमले राज्यलाई ६४ अर्ब ७१ करोड रुपैयाँ राजश्व बुझाएको छ । यस्तै, यस अवधिमा ७१ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल, ६५ अर्ब ५५ करोड रुपैयाँको एलपीजी ग्यास, १५ अर्ब १५ करोडको हवाई इन्धन आयात भएको छ । पेट्रोल आयातबाट राज्य कोषमा ३९ अर्ब ४ करोड, एलपीजी ग्यास आयात गर्दा १२ अर्ब २२ करोड, हवाई इन्धन आयातबाट ७६ करोड रुपैयाँ र मट्टितेल आयात बापत २० करोड ७१ लाख राजश्व संकलन भएको छ ।