२०८१ बैशाख ४ , मंगलबार

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज (साउन ९ गते) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा राप्ती हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो।

 

 

आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो। यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सेयर सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ७० हजार ९८८ कित्ता कर्मचारीका लागि छुट्याएको थियो। बाँकी २१ लाख ७६ हजार ९४० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

 

यो आईपीओमा १४ लाख ९१ हजार ७२२ आवेदकबाट कुल १ करोड ६२ लाख ७६ हजार ६१० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ९० हजार २९८ आवेदकबाट परेको १ करोड ६२ लाख ५९ हजार २४० कित्ता सेयर सदर भएको छ भने १ हजार ४२४ आवेदकबाट परेको १७ हजार ३७० कित्ता सेयर रद्द भएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार २ लाख २७ हजार ६९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले १२ लाख ७२ हजार ६०४ आवेदको हात खाली भएको छ।

 

यो आईपीओको अन्तिम नतिजा केही घन्टामा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिनेछ। सीडीएससीको https://iporesult.cdsc.com.np मा पनि अन्तिम नतिजा सार्वजनिक हुनेछ।