२०८१ बैशाख ७ , शुक्रवार

भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघद्वारा वृक्षरोपण

सुनाखरी न्युज/ भक्तपुर । ‘विरुवा रोपौँ,वातावरण जोगाऔँ’ भन्ने अभियानका साथ भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको नवौं स्थापना दिवस तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको आठौं स्थापना दिवसका अवसरमा निलबाराही क्षेत्रमा वृक्ष रोपण गरिएको छ ।

 

मध्यपुर ठिमी वडा नम्वर-९ वडा अध्यक्ष सानोकाजी राजबाहक तथा संघका अध्यक्ष उद्धव प्रसाद हुमागाइँ,संघका संस्थापक अध्यक्ष तथा भक्तपुर उद्योग संघका निवर्तमान अध्यक्ष प्रदिप श्रेष्ठ, सल्लाहकार शिरोमणि दवाडीले संयुक्त रुपमा वृक्ष रोपण प्रारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उहाँहरूले अहिलेको विश्वव्यापी वातावरणीय प्रदुषणलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने समस्यालाई कम गर्न वृक्षरोपण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

 

वडा कार्यलयको समन्वयमा जिल्ला वन कार्यलयले उपलब्ध गराएका कपुर,धुपी,कल्की,तेजपात,शिरीष लगायतका बिभिन्न प्रजातीका १०० वटा बिरुवाहरू कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नाममा एक एक वटा पर्ने गरी रोपिएको थियो ।