२०८१ बैशाख ७ , शुक्रवार

प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग बजारमा

सुनाखरी न्युज/ काठमाडौं । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग बजारमा आउने भएको छ। मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिस विश्वास गर्दैनन्। यो बायोडिग्रडेबल झोला, जस्को नाम बायो ब्याग अर्थात जैविक झोला हो।

 

बायोब्याग प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्याग बाल्दा खरानीमा परिणत हुन्छ, जसले यो ब्यागलाई वातावरणमैत्री बनाउन्छ। वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो। प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ। प्लास्टिकको झोलाले वातावरणमा प्रदूषणमात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहर मानवका लागिमात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिसाप बन्दै आएको छ। जब की जैविक झोला वातावरणमैत्री छ।

 

व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पका रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित ब्यागस् नेपाल प्रालिले जैविक झोलाको उत्पादन सुरु गरेका छन्। करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन्। मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायोब्याग नाम दिएका बताए।

 

उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको वेजू जानकारी दिए। अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए। ‘प्लास्टिक झोलाको विकल्पका रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्याग नेपालमा पहिलो उद्योग हो’, वेजूले दावी गर्दै भने। मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ। बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो।

 

वेजूले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए। उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए। ‘मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ’, सञ्चालक वेजूले भने।