२०८१ बैशाख ६ , बिहिवार

झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

सुनाखरी न्युज / झापा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला परेको छ । झापामाको केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए ।

मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए । यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।