२०८१ बैशाख १३ , बिहिवार

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

सुनाखरी न्युज/ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उहाँले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताउनुभयो ।

 

मन्त्री भुसालले भन्नुभयो, “विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।” उहाँले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

ठेचोबासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, “यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।” रु ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

 

सो अवसरमा बागमति प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिनेगरी सिसिटिभी र बिजुलीबत्तीको उपयुक्त व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताउनुभयो ।