२०८१ बैशाख १३ , बिहिवार

तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजस्व असुली

सुनाखरी न्युज/काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा ३ अर्ब ४२ करोड राजस्व संकलन भएको छ ।

 

यो लक्ष्यभन्दा दोब्बर बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको छ ।

 

सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षणलगायतका कारणले सोचेभन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमले बताउनुभयो । भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । संकलितमध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्ब दुई करोड उठेको थियो ।

 

आगमी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उहाले जानकारी दिनुभयो । उहाँका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरु आउने क्रम निकै कम छ । मेसिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको भन्सार कार्यालयले जनाएको छ । यो मार्गबाट रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेसिनरी उपकरण आयात भएको छ । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।