२०७९ श्रावण २५ , बुधवार

नागरिकता विधेयकमा सरकारले छल गर्‍यो : सांसद रावल

सुनाखरी न्युज/काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले नागरिकतामा सरकराले ‘छल’ गरेको बताएका छन् । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताएका हुन् ।

 

‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो,’ रावलले भने, ‘संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न । संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।’

 

रावलले विशाल जनसंख्या भएका दुई वटा देशको बीचमा संवेदनशील भूराजनीतिक अवस्थिति रहेको उल्लेख गर्दै जनसंख्याको राजनीतिमा पारेर नेपाललाई दीर्घकालीन संकटमा पार्ने ठूलो भूमरी सिर्जना गरिएको बताए । ‘सत्ताका लागि यस्तो गर्नु भनेको आफ्नो अन्तरआत्मालाई सोझै यो अन्याय हो कि कर्तव्यपरायण वा यो नेपालको संविधानको पालना हो कि बेइमानी हो आफूलाई सोधौँ ?,’ रावलले भने ।