२०८० चैत्र १६ , शुक्रवार

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण सम्पन्न

सुनाखरी न्युज/पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ ।

 

प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।